८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


एनपिएल क्रिकेटमा चितवन राइनोजको विजयी शुरुवात


1.326k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले विजयी शुरुवात गरेको छ । सोमबार भएको लिगको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।

काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए भने लुक बेन्केनस्टेइनले २२ रन बनाए ।

यस्तै ओपनर हसन इसाखिलले १२ रन जोडे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन बनाए भने शरद भेषवाकर ११ रनमा नट आउट रहे । काठमाडौंका लागि साहब आलमले ३ तथा डान डाउथवेट तथा जेर्हाड एरास्मसले समान १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन जोडे भने माइकल लेभिटले २५ रन बनाए । चितवनका लागि पाकिस्तानी बलर सोहेल तन्वीरले ५ विकेट लिए । एनपिएलमा एकै बलरले यो पहिलो पाँच विकेट लिएको हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए ।

आज दिउँसो सवा एक बजे शुरु हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् ।