२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


आज स्थानीय तहको उपनिर्वाचन हुँदै


390
Shares

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भइ रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक लगायत सबै सरोकारवालासँग आयोगले सहयोगको आग्रह गरेको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ ।