काठमाडौं । नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।
नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एशियन भलिबल संघ (काभा)को संयोजनमा आगामी मंसिर २२ देखि २९ गतेसम्म नेपालमा क्लब च्याम्पियनसिप हुँदैछ ।
उक्त च्याम्पियनसिपमा नेपालको दुई क्लबसहित इरानको चादौर मालो क्लब, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडिसी क्लबले चुनौति प्रस्तुत गर्ने भएका हुन् ।
नेपालका भने लिग च्याम्पियन हेल्प नेपाल स्पोट्स क्लब र गण्डकी प्रदेशले क्लब च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दैछन् । नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
भलिबल संघले काभा महिला नेसन्स लिग आयोजना गरेपछि यस वर्ष दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । काभा पुरुष क्लब भलिबल पहिलोपल्ट सुरु हुँदा नेपालमा आयोजना हुँदैछ ।
काभा महिला क्लब भलिबल माल्दिभ्समा भएको थियो । जहाँ नेपालको टोली नेपाल पुलिस क्लब अपराजित रहँदै च्याम्पियन बनेको थियो । पछिल्ला समयमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सफलतासँगै भलिबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।
भलिबल संघले क्लब च्याम्पियनसिप गर्न करिब एक करोड खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख अनुदान प्रदान गर्ने बाँकी विभिन्न संघसंस्थाहरूबाट प्रायोजन लिने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्