१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


उपनिर्वाचन : मौन अवधि शुरु, प्रचारप्रसार निषेध


390
Shares

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुरु भएको छ । मंसिर १३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मौन अवधि शुरु भएकाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।

मौन अवधि स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने र यो अवधिमा निर्वाचन प्रचारप्रसार निषेध हुने आयोगले जनाएको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आयोगले आग्रह गरेको छ ।

मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट पनि प्रचार–प्रसार गर्न पाइँदैन ।

यसैगरि निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य निषेध गरिएको छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न तथा नगराउनसमेत आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिए तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।