१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


उद्योगसँग सम्बन्धित ऐन, कानून र नीतिहरु लगानीमैत्री बनाउँछौं : मन्त्री भण्डारी


169
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डरीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानून र नीतिहरु लगानीमैत्री बनाउने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धि कम्पनी ऐन, औद्योगिक व्यवसायी ऐन, बौद्धिक सम्पती ऐन, खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ती सम्बन्धि ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातारण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले यी ऐनहरुमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नीति ऐन, कानूनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने बताउनुभयो । उहाँले आन्तरिक तथा वाह्य लगानीको लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताउनुभयो ।

मन्त्री भण्डारीले स्वदेशी लगानीलाई उत्साहित मनोवलका साथमा अगाडि बढ्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति, ऐन कानून र सेवा प्रवाहरुको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानून व्यवसायीहरुले मात्रै व्याख्या गर्नसक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति ऐन कानूनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको बताउनुभयो । उहाँले हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकाले उत्साह छाएको बताउनुभयो । उहाँले दक्षिण एशियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको बताउनुभयो ।