१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा


221
Shares

काठमाडौं । तोरणविक्रम शाही समग्रमा ११–अण्डर २०५ को स्कोरमा सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा कायमै रहन सफल भएका छन् ।

गोकर्ण गल्फ क्लबमा आज तोरणले ११–अण्डर ७१ स्कोर गरे । अन्तिम १८ होलको खेल बाकी छँदा तोरणले एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् । तोरणले ६ होल सकिँदा चार बर्डी प्रहार गरिसकेको थिए । पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा एक–एक सट बचाए ।

नवौं होलमा भने दिनको पहिलो बोगी खेपे । फ्रन्ट नाइन ३–अण्डर ३३ मा पूरा गरे । नवौं होलको बोगीपछि उनले लय गुमाए । १२ औं होलमा एक सट खेर फाले । लगतै १३ औं होलमा बर्डी प्रहार गरे पनि १५ औं र १६ औं होलमा एक–एक सट खेर फाले । जसले गर्दा ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए ।

एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विके समग्रमा ७–अण्डर २०९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे । गोकर्ण गल्फ क्लवमा आज एमेच्योर तथा डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्यले दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्दै उनी पाँच स्थान माथी उक्लिए । पहिलो, तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा फ्रन्ट नाइनमा ३–अण्डर ३३ को नतिजा निकाले । यसपछि ११ औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गर्न सफल रहे । १५ औं होलको बोगीले ब्याक नाइन ३–अण्डर ३३ मा पूरा गरे ।
राहुल २–अण्डर ७० को स्कोर दर्ज गर्दै दुई स्थान माथी उक्लिए । उनले सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि ११ औं होलको बोगी विरूद्ध १५ औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे। समग्रमा ४–अण्डर २१२ सहित चौथो स्थानमा उक्लिए । दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे । यो प्रदर्शनमा उनी समग्रमा १–अण्डर २१५ सहित पाँच स्थान तल झरे ।

चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।