काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरुलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हजारौं मान्छेहरु कर्मचारीको रुपमा सहकारीमा आवद्ध रहेको उल्लेख गर्दै उहाँहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन केही कानूनी जटिलताहरु रहेको उल्लेख गर्दै नमिलेका कानून, ऐन र विधिहरु समयानुकुल बनाउन सरकारले चासो दिएको बताउनुभयो । उहाँले सहकारीहरु देखिएको समस्यालाई लिएर भ्रम फैलाइएको समेत बताउनुभयो । मुलुकमा ३१ हजारबढी सहकारी रहेको भएपनि एक दुई सय सहकारीमा देखिएको समस्यालाई लिएर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले थोरै सहकारीहरुले बद्मासी गरेको भएपनि सबै सहकारीहरु खराब हुन् भन्ने प्रचार गरिएको उल्लेख गर्दै यसलाई चिर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्