१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


प्रधानमन्त्रीबाट एनपीएलको ट्रफी अनावरण (तस्बिरहरु)


273
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित एक कार्यक्रममा आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले सुन्धारास्थित धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

एनपीएलको ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश भएकाले विशेष मानिएको छ । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै सबैलाई शुभकामना दिनुभयो ।

प्रधानमन्त्री ओलीले एनपीएलले देशमा पर्यटन प्रवर्द्धन गर्ने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो र जति सहयोग गर्नुपर्ने हो त्यति गर्न नसकेको पनि बताउनुभयो ।

ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।

प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।

लिगमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्नेछन् ।