२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


महिला, बालबालिका मन्त्रालयले पाँच महिनामा गरेका उद्धार कार्य


78
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रका ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरेको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले सडक बालबालिकामुक्त नेपाल बनाउने अभियानअन्तर्गत स्थानीय तहसँग सडक बालबालिकाको तथ्याङ्क मागेको छ । विभिन्न १० स्थानीय तहबाट ५६ सडक बालबालिकाको तथ्याङ्क आएकामा राष्ट्रिय बालअधिकार परिषद्मार्फत पुनःस्थापना संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडि बढाइएको छ ।

पछिल्लो पाँच महिनामा एक हजार ६ सय ८१ हराएका बालबालिकामध्ये एक हजार चार सय ४६ जना फेला पारेर परिवारसँग मिलन गराएको जनाइएको छ । साथै बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको पनि जनाइएको छ ।

यस्तै मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा र मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने पनि तयारी गरेको छ ।

गत असार ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालवालिकामुक्त बनाउने विषयमा सरोकारवाला र स्थानीय तहसँग समन्वय तथा सहकार्यमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरि बालबालिकाका लागि गरिएको लगानीको हिसाबकिताब गर्न बजेट कोडको तयारी भइरहेको छ भने बालबालिकासम्बन्धी ऐन, २०७५ को संशोधनका लागि सरोकारवालासँग सुझाव संकलनको कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।