२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


मालढुंगा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने


429
Shares

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्रे र स्तरोन्नति गर्न मंगलबारदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगा अन्तर्गतको सडकमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न प्राइमकोट बिछ्याउनका लागि सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरेर निर्माण कार्य गर्ने निर्णय भएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिनुभयो ।

सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुंगा फुटाउने, सबबेस, बेस राखेको मालढुंगा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको बताइएको छ ।

उक्त सडक खण्ड अवरुद्ध हुँदा मालढुंगा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ भने अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।

कुश्मा–१ मालढुंगाबाट म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडकमा भइरहेको कालोपत्रे कार्यमा यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ ।

१३ किमी दूरीको बेनी–मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तीस महिनामा काम सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गर्दै आएको छ । चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न हुने गरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ ।