काठमाडौं, भदौ ३१ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास आपूर्तिमा अवरोध आउन सक्ने चेतावनी दिएको छ ।
यसअघि सरकारलाई बुझाएको माग सम्बोधन नभएको भन्दै चाडपर्व नजिकिंदै गर्दा ग्यासमा अवरोध आउन सक्ने चेतावनी संघले दिएको हो । आइतबार पत्रकार सम्मेलन गरी संघले २०६९ साउनमा सरकारसमक्ष प्रस्तुत गरिएको माग यथाशीघ्र सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष गोकुल भण्डारीले भारतीय ढुवानीकर्ताहरुले पनि डिजेल खर्च बढेको कारण ढुवानी गर्न नसक्ने पत्र पठाएको भन्दै यसले चाडपर्वको मुखमा ग्यास अभाव हुनसक्ने चेतावनी दिए ।
हालसम्म नेपाली नम्बर प्लेटका ग्यास बुलेटहरु सञ्चालनमा आउन नसकेको भन्दै यसबाट समेत ग्यास आपूर्तिमा समस्या आउन सक्ने संघको भनाइ छ । संघले ग्यास आयातदेखि बिक्री गर्दा उद्योगको खर्चमा अत्यधिक बृद्धि भएको भन्दै आफ्ना माग सम्बोधन गर्न आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्