काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दे शको मूल समस्या सरकारको अस्थिरता नभएको बताउनुभएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो ।
अध्यक्ष नेपालले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गर्नुभयो । उहाँले नौ महिनाको सरकारले देशमा तरंगा पैदा गरेको बताउनुभयो ।
अध्यक्ष नेपालले आफ्नो गाउँ, आफैँ बनाउँदेखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताउनुभयो । उहाँले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताउनुभयो । मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन शुरु गरेको दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गर्नुभयो । मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताउनुभयो । सो समयमा देशमा गणतन्त्र नआउने कुरा गर्नेहरु पार्टीभित्रै रहेको भन्दै उनीहरुलाई आफूहरुले चासो नदिएको बताउनुभयो । राजतन्त्रका बिरुद्धमा जान काँग्रेसले खुट्टा कमाएको र अरु पार्टीले पनि हिम्मत नगर्दा आफूहरुले नै आन्दोलन गरेर हटाएको बताउनुभयो । उहाँले परिवर्तनलाई साकार बनाउने काममा आफूहरु सफल भएको जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले अहिले नेपालको राजनीतिको समस्या भ्रष्टाचार रहेको बताउनुभयो । भ्रष्टाचार अन्त्य नगरेसम्म मन्त्रीको संख्या घटाएर केही नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्