काठमाडौं । वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ ।
महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
बुधवार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजार बढी छात्राहरुको सहभागिता रहने उहाँले बताउनु भयो । एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वल्र्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उहाँले बताउनुभयो ।
सिंहले यो तालिम सफल रुपमा सम्पन्न भए वीरगञ्जको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न पनि आग्रह गर्नुभयो । आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो । ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले महिलाहरु आत्मरक्षाका लागि सक्षम हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्