एजेन्सी । स्पेनमा सरकारको लापरवाहीका कारण हालै आएको बाढीमा मानवीय र भौतिक क्षति भएको भन्दै सरकारविरुद्ध भएको प्रदर्शन चर्किएको छ ।
स्पेनको भ्यालेन्सियामा हजारौं मानिसले क्षेत्रीय प्रमुख कार्लोस माजोनको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले विरोधका क्रममा सरकार विरुद्ध चर्को नाराबाजी गरेका हुन् ।
गत अक्टोबरमा भारी वर्षापछि आएको बाढीमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरुमा २ सय बढीको मृत्यु भएको थियो जसमा बेपत्ता भएका ८० जनाको अवस्था अझै अज्ञात छ । बाढी आउने पुर्वानुमान बारे सर्वसाधारणलाई समयमै जानकारी नगराएको भन्दै आक्रोशित सर्वसाधारणले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच ठाउँठाउँमा झडप भएको छ ।
भ्यालेन्सिया सिटी काउन्सिलले बाढीका कारण देश शोकमा डुबेका बेला भएको यस प्रकारको प्रदर्शन शोभनीय नभएको भन्दै प्रदर्शन रोक्न आव्हन गरेको छ ।
यसअघि स्पेनका राजा र रानीलाई सबैभन्दा बढी प्रभावित पाइपोर्टा शहरको भ्रमणका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले माटो र अन्य वस्तुहरू प्रहार गरेका थिए । बाढीका कारण सयौ घरहरु बगाउँदा हजारौं विस्थापित भएका छन् । प्रदर्शनलाई ध्यानमा राखी त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्