काठमाडौं । विश्व महाशक्ति राष्ट्र अमेरिकाको साँचो अन्ततः फेरि एक पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको छ । रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका ट्रम्प डेमोक्रेट उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारीसलाई भारी मतले पराजित गर्दै पुनः ह्वाइटहाउसमा फर्कन सफल भएका छन् ।
डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति भएका छन् । डेमोक्रेट पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई भारी मतान्तरले पराजित गर्दै ट्रम्प दोस्रो पटक ह्वाइट हाउसमा पुग्ने भएका हुन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका ट्रम्प २०२० को चुनावमा भने डेमोक्रेट पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । अमेरिकी इतिहासमा यसरी एक कार्यकालको अन्तरालपछि पुनः राष्ट्रपति बन्ने ट्रम्प दोस्रो उम्मेदवार बनेका छन् ।
सन् १८९२ मा अमेरिकाका २२औं राष्ट्रपति एवं डेमोक्रेट उम्मेदवार ग्रोबर क्लेभल्याण्डर एक कार्यकालको अन्तरालपछि चुनावी प्रतिष्पर्धामा उत्रिएर पुनः ह्वाइट हाउस पुगेका थिए । सन् २०१६ मा जस्तै यस पटक पनि ट्रम्पले मूलधारका मिडिया, चुनावी हिसाबकिताबका पण्डितहरु र विभिन्नखाले अभियन्ताहरुलाई गलत साबित गर्दै चुनाव जितेका हुन् । ट्रम्पका दुई वटै जितमा अर्को पनि संयोग जुरेको छ, त्यो के भने डेमोक्रेट पार्टीले पहिलो महिला राष्ट्रपति बनाउन भन्दै अघि सारेका दुवै महिला उम्मेदवारलाई ट्रम्पले पराजित गरेका छन् ।
यस पटक पनि मतदानको दिनसम्म नै डेमोक्रेट उम्मेदवारसँग नेक टु नेक प्रतिष्पर्धा हुने भनिएका र अधिकांश सर्वेहरुमा कमलालाई नै अघि देखाइएको अवस्थालाई अमेरिकी मतदाताले पुरै उल्ट्याइदिए । राष्ट्रपति चुनिन आवश्यक पर्ने २ सय ७० इलेक्टोरल मतभन्दा धेरै माथिको संख्या ट्रम्पको पोल्टामा परेको छ । ट्रम्प आफैंले समेत यो खालको जित कसैले अनुमान गरेका थिएनन् भनेका छन् ।
सन् २०१६ मा तत्कालीन डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले ट्रम्पसँग चुनाव हार्दाहार्दै पनि लोकप्रिय मतमा ट्रम्पलाई धेरै पछि छाडेकोमा यस पटक लोकप्रिय मतमा पनि ट्रम्प नै अगाडि रहेका छन् । अर्कोतर्फ अमेरिकामा राष्ट्रपति जित्नका लागि निकै महत्वपूर्ण मानिएका सात वटा स्वीङ स्टेट अर्थात कहिले कता त कहिले कता ढल्किने राज्यहरु सबैमा ट्रम्पको लालझण्डा फहरायो । “अमेरिका पहिलो” भन्ने नाराबाट उदाएका ट्रम्पको यो जितले अमेरिका भित्र त हलचल ल्याएको छ नै, सिँगो विश्वमा पनि नयाँ तरंग पैदा गरेको छ । अमेरिकाभित्र कठोर आप्रवासन नीतिका पक्षधर ट्रम्पले मेक्सिको सँगको सिमानामा पर्खाल लगाउने आफ्नो पुरानो एजेण्डालाई अघि बढाउने प्रतिवद्धता जनाइरहेका छन् । यस्तै कर कटौती पनि ट्रम्पको मूख्य चुनावी एजेण्डा रहेको छ । ट्रम्प पेरिस जलवायु सम्झौताका पनि सख्त विरोधी हुन् भने ट्रान्स–प्यासिफिक व्यापार सम्झौता खारेज गनुपर्ने पक्षपाती हुन् ।
ट्रम्प पुनः निर्वाचित हुँदा विश्वमा भने नयाँ खालको आशा पनि जागेको छ । झण्डै तीन वर्षदेखिको रुस–युक्रेन युद्ध र १३ महिनादेखिको इजरायल–गाजा युद्ध रोक्न ट्रम्पले भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । चुनावी अभियानका क्रममा ट्रम्प आफैंले यी युद्ध रोक्ने उद्घोष गर्दै आएका छन् । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले त ट्रम्पको जितलाई “महानतम् पुनरागमन” भन्दै बधाइ दिएका छन् ।
यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई “प्रिय मित्र” भन्दै “हृदयदेखिको बधाइ” भनेका छन् । यसर्थ अमेरिका भित्र होस कि बाहिर ट्रम्पसँग आश र त्रास दुवै छ । प्रतिष्पर्धी राजनीतिक पार्टी, राजनीतिकर्मी, मिडिया र सामाजिक अभियन्ताहरुले ट्रम्पलाई जतिसुकै नकारात्मक रुपमा प्रस्तुत गर्न खोजे पनि अमेरिकी जनताले उनलाई भारी मतसहित पुनः ओभल अफिसमा पु¥याएका छन् । अमेरिकी जनताका अपेक्षा पुरा गर्दै बाँकी विश्वलाई पनि युद्धको बारुदी सुरुङबाट बाहिर निकाल्न भूमिका खेलून, नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई हाम्रो पनि शुभकामना !
प्रतिक्रिया दिनुहोस्