काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थपेको छ ।
तिहारको बिदा शुरु हुने दिन नै म्याद सकिएकोमा आज कार्यालय खुलेपछि अदालतमा उपस्थित गराइएकोमा दश दिन म्याद थपिएको हो । लामिछानेसंगै सहकारी ठगीमै पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई पनि दश दिन नै म्याद थपिएको छ । प्रहरीले २५ म्याद थप गर्न माग गरेकोमा न्यायाधीश चन्द्रमणि पौडेलको इजलाशले दश दिन म्याद थपिदिएको हो ।
यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीलगायतका सहकारीको रकम ठगी गरेको आरोप लागेको छ ।
यसैबीच, पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ । लामिछानेलाई आज अदालत लैजाने क्रममा रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुमाथि अश्रुग्यास प्रहार गरेका कारण झडप भएको हो ।
वाई चोकमा प्रदर्शन गरिरहेका रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै अघि बढ्दा खोज्दा प्रहरीले बल प्रयोग गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको रास्वपा कार्यकर्ताले बताएका छन् । कम्तिमा आधा दर्जन बढी कार्यकर्ता पक्राउ परेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्