काठमाडौं । काठमाडौं उपत्यका र आसपासका स्थानमा आज दिउँसो वर्षा भएको छ ।
मध्याह्नदेखि अपरान्हसम्म उपत्यकाका विभिन्न स्थान र उपत्यका नजिककका क्षेत्रहरुमा हल्कादेखि मध्यम वर्षा भएको हो ।
वर्षा हुने क्रम आज राती पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ ।
पश्चिमी वायु र भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावका कारण नेपालमा वर्षा भएको जनाइएको छ । आज राती बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा अन्य पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि दिउँसोदेखि मौसममा सुधार हुने र आकाश खुल्दै जाने पनि महाशाखाले जनाएको छ । यसैबीच, आज दिनभर मौसम नखुल्दा उच्च पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान अवरुद्ध भएको छ ।
काठमाडौंबाट तराइ र मध्य पहाडी क्षेत्रका विमानस्थलहरुमा उडान भए पनि उच्च पहाडी क्षेत्रका उडानहरु अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्