२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै


351
Shares

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपाली साहित्यका महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । कविताबाट लेखन शुरु गर्नुभएका देवकोटाका एक सयभन्दा बढी कृति प्रकाशित छन् । उनका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, उपन्यास, नाटक, गीत, समालोचना तथा फुटकर कविता प्रकाशित छन् ।

देवकोटाको नेपाली भाषामा प्रकाशित मुनामदन खण्डकाव्य सबैभन्दा बढी बिक्री भएको पुस्तकमा पर्दछ । यस्तै उनको शाकुन्तल महाकाव्य र पागल कविता पनि सर्वाधिक चर्चित कृति हुन् । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक हुन् ।

२०१६ सालमा देवकोटा शिक्षा मन्त्री पनि भएका थिए । उनी असाध्यै छिटो र तुरुन्तै रचना लेख्न सक्थे । उनले शाकुन्तल महाकाव्य तीन महिनामै लेखेका थिए । यस्तै सुलोचना महाकाव्य दश दिनमा लेखेका थिए भने कुञ्जिनी खण्डकाव्य एकै दिनमा लेखेका थिए । उनले पागल कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए ।

नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो । उनको मैतीदेवीस्थित घरलाई २०७९ साल असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ ।