१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल


195
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरि मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि बिक्री गर्दै आएको भएपनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताउनुभयो । वैद्यखानाले माग पूरा गर्नसके बाहिरि मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभइ निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने संकल्प गर्न आग्रह गर्नुभयो । उहाँले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताउनुभयो ।