काठमाडौं । तिहारमा फूलमाला र पालासँगै कुचोको माग पनि अत्यधिक हुने गर्दछ । नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ । कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न पनि गाह्रो हुन्छ ।
तिहार नेपालीको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरु बताउँछन् । कुचोमा पनि झाडु र अम्रिसोको कुचो हुन्छ । अम्रिसोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउनु हुन्छ । यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ ।
काठमाडौंमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आउनुभएका अध्यक्ष कार्कीले कुचोको व्यापार शुरु गर्नुभएको २०४९ सालदेखि नै हो । इलाममा आफ्नो पुख्र्यौली घरमा २०३० सालमा आफू जन्मिएको र आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उहाँलाई छ । त्यसैले उहाँले पनि पुख्र्यौली पेशा २०४९ सालदेखि गर्दै आउनुभयो । काठमाडौंमा आएर व्यापार शुरु गरेको भने उहाँले १४ वर्ष करिव पुग्यो ।
अध्यक्ष कार्कीले भन्नुभयो, ‘हामीले पारिवारिक रुपमा नै काम गरिरहेका छौँ । गजमुखी झाडु कुचो उद्योग, एनके लक्ष्मी ट्रेडर्स र गृहलक्ष्मी ट्रेडर्स तीन वटा हाम्रो फर्म छ । मैले यो व्यवसाय पारिवारिक विरासतकै रुपमा पाएको हो । म इलाममा जन्मिएको हो । हाम्रो इलाममा पिताजीबाटै २०३० सालमा नै व्यवसाय थियो । २०५० सालदेखि निरन्तर यो व्यवसायमा छु । हामी सबैको लागि यो रमाइलो पर्व तिहार हो ।’
किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरुलाई कुचोको चटारो छ । माघ, फागुनमा जम्मा पारेका कुचोहरु बनाउने र बेच्ने काममा भ्याइनभ्याइ छ । तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उहाँ बताउनु हुन्छ । कुचोलाई आफ्नो जीवनपद्धतिका रुपमा लिनुपर्ने कार्की बताउनु हुन्छ ।
अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौं उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अम्रिसोको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताउनुभयो । यस वर्षमात्रै भारतमा १ अर्ब बराबरको कुचो निर्यात गरिसकेको उहाँको भनाइ छ । त्यसै बराबरको आन्तरिक खपत नेपालका विभिन्न शहरहरुमा हुने गरेको कार्की बताउनु हुन्छ । तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने बताउनुभयो ।
कार्कीकाअनुसार दशैँ र तिहार चाडपर्व परेका दुई महिना (असोज र कार्तिक) मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ । गत साल तिहारमा मात्रै करिव २० करोडको हाराहारीमा कुचो विक्री भएको उहाँको संघको अनुमान छ । तर यस पटक भने अम्रिसोको कुचोको मूल्य केही घटेकाले माग बढेपनि रकमका हिसावले भने विगतका वर्षहरुकै हाराहारीमा विक्री हुने अध्यक्ष कार्कीले बताउनुभयो ।
काठमाडौंमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुबाट कुचो आउने गरेको उहाँले बताउनुभयो । उहाँले कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको पनि बताउनु भयो । भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहीँ तय हुने उहाँको भनाइ छ । ४० रुपैयाँ परपिसबाट साढे तीन सयसम्मको कुचो विक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष कार्कीले यस वर्षको दीपावलीमा दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अम्रिसोको कुचो बिक्री हुने आँकलन गरेको बताउनुभयो । उहाँले अब अम्रिसो बनाउँदा गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । किसानले पनि समयमै व्यापारीहरुलाई दिने र राम्रोसँग सुकाउनुपर्ने बताउनुभयो ।
उहाँले व्यवसायीहरुले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्यभन्दा बढीमा बिक्री नगर्न आग्रह गर्नुभयो । मागपूर्तिका लागि रातीको समयमा पनि काम गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्