Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


धनराज गुरुङ र ऋषिकेश पोखरेललाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्छ : गगन थापा


2.6k
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सहकारी छानविन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानविन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो । उहाँले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताउनुभयो ।

सोमबार नेपाल राष्ट्र बैंकले माठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताउनुभयो ।

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरुलाई धेरै नबोल्न पनि सुझाव दिनुभयो । सरकारमा बसेकाहरुले बोल्ने नभई उनीहरुले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो । महमन्त्री थापाले अवको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले सरकार बलियो भएकाले सन्देश दिनेगरी काम हुनुपर्ने बताउनुभयो ।