२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024


उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौं : स्वास्थ्यमन्त्री पौडेल


182
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिहीबार फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले नेपालमा स्वास्थ्य जनशक्ति अपुग रहेको भन्दै उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प आफूसँग रहेको बताउनुभयो । उहाँले तत्काल औपचारिक योग्यता पु¥याएर जनशक्ति उत्पादन गर्ने स्थिति नरहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रत्यारोपणको क्षेत्रमा मात्रै नभइ अन्य क्षेत्रमा पनि उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र बिस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

फेलोसिप कार्यक्रमलाई सातै प्रदेशमा बिस्तार गर्ने सरकारको योजना रहेको बताउनुभयो । नेपाल मेडिकल काउन्सिलले किड्नी ट्रान्सप्लान्ट सर्जरी र रिनल ट्रान्सप्लान्ट मेडिसाइन गरी दुई क्लिनिकल फेलोसिपहरु एक वर्षका लागि अनुमति दिएको हो ।