Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


रवि र छविलाई आज अदालत लगिँदै


0
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी पोखरा लगिएको थियो । यस्तै छविलाललाई गत असोज ६ गते पक्राउ गरी पोखरा लगिएको थियो । दुवैजना माथि अनुसन्धान गर्नका लागि थपिएको म्याद आज सकिँदैछ । त्यसैले दुवैजनालाई आज सँगै अदालतमा उपस्थित गराउन लागिएको हो ।

पूर्व डिआईजी छविलालको गत असोज १७ गतेबाट लागु हुने गरी गत शुक्रबार २० दिनको म्याद थप भएको थियो भने कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ व्यक्ति र संस्थाविरुद्ध किटानी जाहेरी परेको थियो । यसै प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई फरार रहेका छन् ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र सामुहिक रुपमा रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा पनि लागेको छ ।