काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ ।
सोमबार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक विदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो ।
दशैं, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक विदा अस्पतालहरुमा पनि हुने गर्दछ । ती विदाका दिनमा पनि आफूहरुले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताउनुभयो । उहाँले सार्वजनिक विदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै विरामीहरुको उपचार हुने भएकाले त्यस्ता विरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताउनुभयो ।
अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक विदा दिर्ने गर्दछ । तर ती सार्वजनिक विदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताउनु भयो ।
दशैंको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक विदा दिने गरेको छ । त्यसबाहेका अन्य सार्वजनिक विदाहरुमा आधा दिन अस्पतालले बिरामीहरुका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा. अधिकारीले विदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरुको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताउनुभयो ।
अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिव २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्