२० कार्तिक २०८१, मंगलबार | Wed Nov 6 2024


हेवाखोलामा यातायात सञ्चालन हुँदै


0
Shares

ताप्लेजुङ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर आजदेखि यातायात सञ्चालन हुने भएको छ ।

सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार यही असोज ११ र १२ गते आएको बाढीले यहाँको बेलीब्रिज बगाएर यातायात अवरुद्ध भएको थियो । अवरुद्ध यातायात खुलाउन डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ह्युम पाइपहरू प्राप्त भइसकेपछि काम शुरु भइरहेको छ । आज बेलुकीसम्ममा डाइभर्सनको निर्माण पूरा गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको सुबेदीले बताउनुभयो ।

यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जाने आउने सर्वसाधारणलाई सास्ती भएको छ भने ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आउने भक्तजनको संख्या घटेको छ. । यस्तै ढुवानी सेवासमेत ठप्प हुँदा थप समस्या भएको छ ।

पाँचथर, ताप्लेजुङका सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला संस्थाहरूले सुरुवातदेखि नै यातायात सञ्चालन गर्न सबै विकल्प सहित पहल गरिरहेका छन् । पाँचथरको फिदिम नगरपालिका र त्यहाँका सुरक्षा निकायले फड्के समेत निर्माण गरेर राहत पु¥याएका छन् ।

तत्कालको समस्या समाधानका लागि डाइभर्सनले काम गर्ने भन्दै बेलीब्रिज निर्माण गर्नसमेत आवश्यक पहल भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।