३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


७१ वर्षिय कपिल दाहाललाई भारी बोक्ने काम पनि सहज लाग्छ


169
Shares

काठमाडौं । बुढ्यौलीमा आप्mना सन्तानले दिने सुख र शान्तिको अपेक्षा कसलाई नहुँदो हो र ! बुढेसकालमा आमा बुबाको स्याहार गर्नुपर्ने सन्तान बाहिरिंदा मनभरी दुःख र पीडा बोकेर हाँसी हाँसी श्रम गर्नेको कमी छैन । इमान्दार र मेहनतका साथ श्रम गर्दा निरोगी होइन्छ भन्ने मान्यता बोकी बिगत दुई दशकदेखि एउटै पेशामा रम्नेहरुमध्ये एक हुन कपील प्रसाद दाहाल ।

विगत २३ वर्षदेखि यसरी नै खाद्यान्नको भारी बोक्ने र प्याकिङको कार्यमा व्यस्त रहँदै आएका छन्, ललितपुर निवासी ७१ वर्षिय कपील प्र्रसाद दाहाल । पढे लेखेको नभएका कारण काम खोज्ने सिलसिलामा उनी यस खाद्य तथा व्यापार व्यवस्था कम्पनीमा आईपुगेका हुन् । दुई सन्तान विदेशिएका दाहाल आफ्नो पेशामा यति सन्तुष्ट छन् कि, भन्छन् रोग नलागोस् त्यति हो ।

श्रीमती अस्वस्थ भएका कारण काम गर्न असमर्थ भए पनि आफू चाहीँ यो उमेरमा करले होइन स्वस्थ हुनका लागि काममा व्यस्त आउने गरेको बताउँछन् दाहाल । दाहाललाई विदेशिएका छोराछोरी भन्दा पनि नाती नातिनाको बढी माया लाग्दो रहेछ । नाती नातिनीलाई सम्झदै भक्कानीय ।

ललितपुरबाट बिहान १० बजे आउने र बेलुकी ५ बजे कार्यालय समयसम्म यसरी नै व्यस्त रहने दाहाललाई भारी बोक्ने कार्य कष्टकर पनि नलाग्ने रहेछ । कहिले भारी बोक्ने अनि कहिले प्याकिंङमा व्यस्त रहँदा बेला बेलामा गुनगुनाउने पनि गर्छन दाहाल । उनको जीवनको परिभाषा भनेकै कसैलाई छलकपट नगरी जिउनु हो ।

विदेशमा रहेका सन्तानले काम नगर्नु भने पनि त्यसलाई अटेर गरेर दिनभर व्यस्त रहने गरेका छन् दाहाल । खाद्य तथा व्यवस्था विभागले सञ्चालन गरेको सुपथ मूल्य पसलमा चाडबाडका लागि खाद्यान्न जोहो गर्न आउनेहरुलाई नियाल्ने गरेका उनलाई चाडपर्व नजिकिंदै गर्दा न नयाँ कपडाको लोभ छ न त मीठो खाने कुराको नै । हरेक दिन काममा आउनु पर्ने बाध्यता नभएकाले पनि दाहाल आफनो कर्मप्रति निकै खुशी देखिएका हुन् ।