काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँका लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको भीड हुने भएपनि अहिले बजार सुनसान छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीका कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरुले बताए । उनीहरुले दशैँ नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् । दशैँ लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निराशामा परिणत भएको छ । दशैँ लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।
व्यापारीहरुले विगतका वर्षहरुमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे । बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरुको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उनीहरुले दशैँ लागेसँगै व्यापार बढ्ने केही आश भएपनि बाढी पहिरो जस्ता विपत्तिका कारण बजारमा ३० प्रतिशतभन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए । सरकारको नीति, बैंकको ब्याज, घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए ।
उनीहरुले आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएको अवस्थामा सामानको मूल्य वृद्धि हुँदा पनि सामान बेच्न व्यवसायीलाई समस्या भएको बताए ।
नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दशैँ व्यवसायी र आम नागरिकका लागि दशाको रुपमा देखापरेको बताउनुभयो । उहाँले अहिले मुलुक नै व्यापार व्यवसायभन्दा पनि बाढी पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैँमा रौनक नभएको बताउनुभयो । उहाँले विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी पहिरोका कारण शिथिल बनाएको बताउनुभयो । उहाँले मुलुकका सक्रिय युवाहरु विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको बताउनुभयो । उहाँले बाढी पहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्गहरु बन्द भएकाले होलसेल व्यवसायीलाई थप समस्या भएको बताउनुभयो । संस्थापक अध्यक्ष कटुवालले बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतका कारण दशैँमा बजार चलायमान हुने अवस्था नदेखिएको बताउनुभयो । उहाँले व्यापार व्यवसाय विगतको तुलनामा रौनक नदेखिएको भन्दै व्यवसायीहरुमा दैनिक निराशा छाएको बताउनुभयो । उहाँले भन्सार दरदेखि स्थानीय कर, घरभाडा, ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियतभन्दा माथि बजार मूल्य पुगेको पनि बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनुपर्ने सोचमा पुगेको बताउनुभयो । क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको उहाँको भनाइ छ ।
संस्थापक अध्यक्ष कटुवालले भन्नुभयो, ‘बजार विगतको तुलनामा २५ प्रतिशतमा सिमित भएको छ । २५ प्रतिशतको व्यापारले सबै कुराहरु धान्दैन । बाढी पहिरोबाट भएको सडक पूर्वाधार सरकारले तत्काल बनाउँदै यात्राका लागि सहज वातावरण बनाउन जरुरी छ ।’
राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताउनुभयो । उहाँले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनका लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको भन्दै बजार २० देखि २५ प्रतिशत मात्रै व्यापार रहेको बताउनुभयो । उहाँले कोभिडपछि शुरु भएको आर्थिक मन्दी यस वर्षको दशैँमा आएर चरम उत्कर्षमा पुगेको देखिएको बताउनुभयो । उहाँले व्यापार नभएर निराशामा रहेका व्यवसायीलाई बाढी पहिरोका कारण थप निराशा थपेको बताउनुभयो । पछिल्लो दुई वर्षदेखि निरन्तर रुपमा चाडपर्वमा व्यापार व्यवसायमा कमी हुँदै आएको भन्दै विगतको तुलनामा यस वर्ष शुन्य अवस्थामा आएको बताउनुभयो । उहाँले यस वर्षको देशैँमा २० प्रतिशत भन्दा बढी व्यापार हुने अवस्था देखिएको बताउनुभयो ।
पूर्वअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘बजारमा उपभोग वृद्धि गर्ने युवा जनशक्ति विदेश पलायन भएको कारण पनि व्यापारमा कमी भएको हो । मानिसहरुको क्रय शक्ति घटेको छ । काठमाडौं बाहिरको व्यापारको अवस्था पनि उस्तै छ । बाढी पहिरोको कारण काठमाडौं नाकाबन्दीको अवस्थामा छ ।’
रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको भन्दै ७० प्रतिशतले गिरावट आएको बताउनुभयो । उहाँले ७० प्रतिशत व्यापारमा आएको गिरावटले व्यवसायीहरु ठूलो मारमा परेको भन्दै व्यापार व्यवसायीहरुलाई सुरक्षा दिने सम्बन्धमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले व्यापारको लागि दशैँमा घटस्थापनाका दिनदेखि फूलपातीको दिनसम्म पिक समय मानिने भएपनि अहिले त्यस्तो नरहेको बताउनुभयो । दशैँ लाग्ने दुई हप्ताअघि बजार भिडभाड हुने गरे पनि यो वर्ष सुनसान रहेको बताउनुभयो । उहाँले बाढी पहिरोका कारण मुलुक अस्तव्यस्त भएकाले थप व्यापारमा जटिलता थपिएको बताउनुभयो । उहाँले दशैँमा बजार चलायमान भएर लगानी उठ्ने सम्भावना नभएको बताउनुभयो । उहाँले भन्सारका दरहरु सरकारले हरेक वर्ष बढाएर आयातलाई सरकारको आम्दानीको रुपमा लिएकाले सामानको मूल्य पनि बढेर आएको बताउनुभयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो, ‘मुलुक आर्थिक मन्दीको चपेटामा थियो । अहिले थप अविरल वर्षाका कारण दशैँ व्यवसायीलगायत आम नागरिकलाई दशाको रुपमा आएको छ । अहिले आर्थिक चलायमान र व्यापार व्यवसाय सुस्ताएर गएको छ । ’
नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको बताउनुभयो । उहाँले बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा धेरै व्यवसायीहरुको सामान नाका र बाटोमा अड्किएर बसेको बताउनुभयो । उहाँले व्यापार गरेर दशैँमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाए पनि यो वर्ष खासै उत्साह नभएको बताउनुभयो । उहाँले बाढी पहिरोका कारण व्यापार समेत ठप्प भएकाले राज्यले सहजिकरण तत्काल गर्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष गौतमले भन्नुभयो, ‘दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोका कारण समस्यामा छन् । बाढी पहिरोका कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा त्यहाँबाट सामान आउन ठप्प भएको छ । व्यापार गरेर दशैँमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाउने बेला हो । तर बाढी पहिरोका कारण व्यापार समेत ठप्प छ । यस्तो बेला राज्यले सहजिकरण तत्काल गर्न आवश्यक छ ।’
सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले बजारमा दशैँ अहिलेसम्म नलागेको भन्दै बजार सुनशान रहेको बताउनुभयो । उहाँले आजसम्म बजारमा दशैको चहलपहल नदेखिएको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सिभिल महलका व्यवसायीहरु गेम र टिकटक हेरेर बस्न बाध्य रहेको बताउनुभयो । उहाँले घटस्थापनाका दिनदेखि केही ग्राहक आउने पर्खाइमा रहेको बताउनुभयो । उहाँले दशैँमा केही व्यापारमा सुधार हुने व्यवसायीमा अपेक्षा भएपनि आशातित हुन नसकेको बताउनुभयो ।
अध्यक्ष घिमिरेले भन्नुभयो, ‘विगतमा बजारमा भनेको जस्तो समान उपलब्ध हुन नसक्दा समस्या भएको हो । भन्सारका कारण पनि बजारमा समान आउन सकेन । मूल्यवृद्धि हुँदा पनि बजार माग बढ्न नसकेको अवस्था छ । सरकारले भन्सार दर बढाएका कारण २५ प्रतिशतसम्म बजार मूल्य बढेको छ ।’
एकता व्यापार संघका अध्यक्ष तेज आचार्यले पनि विगतका दशैँको तुलनामा यस वर्षको दशैँमा विभिन्न समस्याका कारण १० प्रतिशत पनि व्यापार नहुने अवस्था देखिएको बताउनुभयो । उहाँले ९० प्रतिशत बजार प्रभावित हुने अवस्था बाढी पहिरोका कारणले अनुमान गर्नसक्ने अवस्था आएको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले दशैं लाग्नु भन्दा अघिका १० देखि १२ दिनको व्यापारले लगानी उठाउने र ऋण तिर्ने आशा रहे पनि आशा मर्दै गएको बताउनुभयो । उहाँले बजारमा भीड हुने बेला भएपनि कुनैपनि पसलहरुमा ग्राहक नभएको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा राज्यले सडक पूर्वाधार तत्काल बनाउने र नीतिगत व्यवस्थालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यापार व्यवसाय नाजुक र दयनीय अवस्था रहेको भन्दै दशैँ नजिकिएसँगै केही व्यापार वृद्धि हुने अपेक्षा हुँदाहुँदै बाढी पहिरोका कारण थप समस्या बनाएको बताउनुभयो ।
न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले पनि दशैँको मुखमा आएर मुलुकमा बाढी पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको बताउनुभयो । उहाँले आर्थिक कारोबार पनि कम भइरहेकाले दशैँ लागे पनि व्यापार व्यवसाय नाजुक अवस्थामा रहेको बताउनुभयो । उहाँले कोभिडको समयको तुलनामा २० देखि २५ प्रतिशत व्यापारमा कमी आएको बताउनुभयो । उहाँले व्यवसायीले ऋण गरेर आयात गरेको सामानसमेत पसलसम्म आउन नसकेर बाटोमा फसेको बताउनुभयो । अर्का व्यापारी रञ्जना महलमा स्टार जिन्सका सञ्चालक संयोग श्रेष्ठले पनि विगतको भन्दा व्यापार स्लो रहेको बताउनुभयो । उहाँले विगतमा १०० प्रतिशत हुने व्यापारमा अहिले २० प्रतिशत पनि व्यापार नभएको बताउनुभयो । उहाँले दशैँको माहोल लाग्ने तरखरमा बाढी पहिरोका कारण बाहिर जिल्लाका व्यवसायीहरु समेत आउन नसक्दा बजार सुनसान देखिएको बताउनुभयो । यता अर्का महाबौद्धका व्यापारी रमेशकुमार अधिकारीले पनि दशैँ नजिकिए पनि व्यापार शुन्य अवस्थामा रहेको बताउनुभयो । उहाँले नयाँ वर्ष लागेसँगै व्यापारमा आएको कमी दशैँसम्म आउँदा ७५ प्रतिशतले कमी आएको बताउनुभयो ।
दशैँमा व्यापार होला भनेर ऋण गरेर सामान हालियो तर विगतको तुलनामा ८० प्रतिशत व्यापारमा कमी आएको व्यापारीहरुको गुनासो छ । बजारमा प्रशस्त सामान भएपनि पसलमा आउने ग्राहक नभएको उनीहरुको भनाइ छ । व्यापार गरेर बैंकको ब्याज, राज्यलाई कर, कोठा भाडासमेत तिर्न नसकिको बताएका छन् । – न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्