२० कार्तिक २०८१, मंगलबार | Wed Nov 6 2024


अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुट्ने


16.263k
Shares

काठमाडौं । काठमाडौंबाट छुटेका गाडीहरु उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन हुने भएको छ ।

मंलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला प्रतिनिधिहरुबिचको छलफलबाट उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेलगायत १० बुँदे निर्णय भएको हो ।

छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता रहेको थियो । बैठकले मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

बैठकपछि बाढीपहिरोबाट मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरिनुका साथै यस विपद्बाट ज्यान गुमाउने यातायात मजदुरको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वैकल्पिक मार्गहरुको पहिचान गरेर ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी साधन चलाउने तथा वैकल्पिक मार्गबारेको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने निर्णय पनि भएको जनाइएको छ ।

साथै अत्यधिक वर्षाका कारण ‘रेड जोन’ मा परेका सडकमा हेभी इक्युपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने र अवरुद्ध सडक खुलाउन स्थानीय तहले पनि आफूसँग भएका हेभी इक्युपमेन्ट प्रयोग गरेर बाटो खुलाउन र आवश्यक उद्धारमा सहयोग गर्न अनुरोध गर्ने बैठकमा निर्णय भएको छ ।