काठमाडौं । ललितपुरस्थित नख्खु खोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरु जीवन गुजाराको पीडाले छटपटाएका छन् ।
खोला छेउमा भाडामा अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएका उनीहरुको लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने चिन्ताले छटपटाएका हुन् । उनीहरुले आफूहरुको पीडामा साथ दिने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गरे ।
ललितपुर महानगरपालिका भित्र पर्ने सो क्षेत्रमा महानगरपालिकाले समेत कुनै वास्ता नगरेको गुनासो उनीहरुको छ । आफन्त कहाँ गाँस र बासको सहारा लिन बाध्य भएका उनीहरुले तत्काल अस्थायी आवास र खानालगायतका राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । अस्थायी टहरा भित्र कुखुरा पालन गर्दै आएका एक पीडितले आफ्नो करिब २०/२५ लाख बराबरको क्षति हुँदा पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गर्नुभयो । उहाँले तत्काल आफूहरुलाई क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
बाढीले घरवास उठाएपछि आफूहरु अर्काको घरमा शरण लिएर बस्न बाध्य भएको एक वृद्धले बताउनुभयो । उहाँले सरकारले यस्तो विपद्मा पनि कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
बाढीले लगाउने कपडा र भाँडाकुँडा सबै बगाएको विलौना अर्की पीडितको छ । उहाँले बालबच्चालाई राख्नका लागि भाडाको कोठा समेत नपाएको गुनासो गर्नुभयो । सरकारले तत्काल आवासको व्यवस्था गरिदिए हुने उहाँको भनाई थियो ।
ललितपुरमा अविरल वर्षासँगै नख्खु खोलामा भिषण बाढीले खोला किनारामा अस्थायी टहरा बनाएर ग्रिल व्यवसाय, होटल व्यवसाय, बुंगुर पालन, कुखुरा पालन लगायतका पेशा गर्दै आएकाहरुको उठिबास भएको छ । बाढीले बगाएर २ जनाको भने ज्यान गएको छ । यता, स्थानीय सरकार र संघीय सरकारले पनि हालसम्म पनि कुनै सहायता नदिएको भन्दै आक्रोशित भएका छन् ।








प्रतिक्रिया दिनुहोस्