काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुभएको छ । महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई विश्वसामु प्रस्तुत मात्रै गर्नुभएन त्यसबाट मानव सभ्यतालाई पुग्ने क्षतितर्फ पनि महासभाको ध्यानाकर्षण गराउनुभयो । यसैगरी विश्वमा शान्ति कायम गर्न नेपाल सधैं अग्रपंक्तिमा उभिने सन्देश पनि विश्व समुदायलाई दिनुभयो ।
अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७९औं महासभा आयोजना भइरहँदा विश्व शान्तिका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको राष्ट्रसंघ र विश्व समुदायका शीर्ष नेताहरु एकजुट भए । महासभा यस्तो समयमा आयोजना गरियो कि जुन बेला इजरायल र हिजबुल्लाहबीचको युद्ध उत्कर्षमा पुगेको छ .। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महासभालाई सम्बोधन गदै विश्वमा शान्तिका लागि अपिल गरिरहँदा युद्धले शान्ति स्थापनामाथि नै चुनौती थपिरहेको थियो ।
महासभाको मुख्य विषयका रुपमा प्रस्तुत भएको अर्को पाटो हो जलवायु परिवर्तनले विश्वमा पारेको असर । जसलाई नेपालका तर्फबाट महासभामा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले जोडदार रुपले उठाउनुभयो । नेपालका हिमताल फुटेर त्यसले पार्न थालेको असरबारे प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा प्रकाश मात्र पार्नुभएन जलवायु परिवर्तन न्युनीकरणका लागि ठोस पहल गर्न पनि गर्नुभयो ।
सोही महासभामा सहभागी अमेरिकाका लागि नेपालका पुर्व राजदुत अर्जुन कुमार कार्कीले प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा निकै नै महत्वपुर्ण विषय उठान गरेको र यसलाई महासभामा सहभागीहरुले मनन समेत गरेका बताउनुभयो ।
नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा सुचीकृत हुने दिन नजिकिँदै गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यसले नेपालको ऋण अनुदानमा पर्ने असर तथा कम विकसित मुलुकहरूमा गरिबी र विपन्नता अत्यधिक केन्द्रित रहेको प्रसंग पनि उठाएको पुर्व राजदुत कार्कीले बताउनुभयो ।
सम्बोधन गर्ने क्रममा ओलीले धनी र गरिब देशहरुबीचको भिन्नता, सद्भाव, घृणा, आर्थिक विकास र वातावरणीय विनाश आजको जस्तो चर्को अवस्था कहिल्यै नभएको पनि उल्लेख गर्नु भएको थियो । नेपालको कमजोर अर्थतन्त्रलाई कोभिड–१९ महामारीले झन ठूलो पारेको भन्दै उहाँले त्यसबाट बाहिर निस्कन अहिले पनि जुधिरहेको स्मरण गराउनुभयो ।
यसबाहेक प्रधानमन्त्री ओलीले ’भविष्यको सन्धि’, ’भविष्य पुस्ताको घोषणा’ र ’ग्लोबल डिजिटल कम्प्याक्ट’ जस्ता बहसमा पनि सहभागी हुनुभयो । यस्तै महासभा अन्तर्गत निकै महत्व दिइएको ‘द समिट अफ द फ्युचर’ को प्लेनरी सत्रलाई पनि सम्बोधन गर्नुभयो । न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्रीको पहिलो भेट संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेससँग भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकोमा गुटरेसलाई धन्यवाद दिँदै नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्यामा न्याय पाउनुपर्ने विषय वार्तामा उठाउनु भयो ।
यसैगरी प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, भुटान, फिन्ल्याण्डलगायत देशका प्रधानमन्त्रीहरु तथा महासभामा सहभागी विभिन्न देशका प्रतिनिधीहरुसँग पनि साइडलाइन भेट गर्नुभयो । प्रधानमन्त्री ओलीको महासभामा भएको सहभागिताले नेपाललाई भविष्यमा फाइदा पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्