काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ का जनताको वर्षाैंदेखिको सपना पुरा भएको छ । नारायणी नदी पारी रहेका दुई वटा गाउँलाई जोड्नेगरी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि उनीहरु सिंगो देशसंग जोडिएका मात्रै छैनन्, नदी वारपार गर्ने सास्ती पनि समाप्त भएको छ ।
गत असार अन्तिम साता निर्माण सम्पन्न भएको १ हजार ५ सय ५८ मिटर लामो झोलुंगे पुलको आज राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसंगै त्रिवेणी–महेसपुर–सुस्ता पुल संचालनमा आएको छ । २३ करोड रुपैयाँको लागतमा बनेको यो पुल देशका झोलुङ्गे पुलहरु मध्ये यो सबैभन्दा लामो पनि रहेको छ ।
पुल निर्माणका लागि २०७२ सालमा त्रिशुली आश्रय जेभी निर्माण कम्पनीसंग सम्झौता भएको थियो । २०७५ सालमै निर्माण सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीले पटक पटक म्याद थप्ने तर काम नगर्ने गर्दा तोकएको अवधि भन्दा ६ वर्ष ढिलो पुलको निर्माण सकिएको हो । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट उद्योगपति विनोद चौधरी निर्वाचित भएपछि पुल निर्माणको कामले गति लिएको थियो ।
पुल बनेसंगै नदी पारीको सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा रहेका झण्डै तीन सय ५० घरधुरीका ३ हजार २ सयभन्दा बढी सर्वसाधारणलाई ठूलो राहत पुगेको छ । नदीमा पुल नहुँदा उनीहरुले ठूलो सास्ती ब्यहोर्नु परेको थियो । पुल संचालनमा आएसँगै नदी पारिका जनताले अर्को पनि सुविधा पाएका छन्, त्यो हो उनीहरुका घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली पनि जोडिएको छ । नदीमा विजुलीको पोल गाडेर विजुली आपूर्ति गर्न नमिल्दा उनीहरु केन्द्रीय प्रसारण लाइनको विजुलीबाट बञ्चित रहँदै आएका थिए । पुल बनेपछि सोही पुल हुँदै विजुलीको तार तानेर विजुली आपूर्ति गरिएको छ ।
पुलको भार बहन क्षमतालाई ध्यानमा राख्दै प्रहरी पोष्ट स्थापना गर्नुपर्ने वा निगरानी गर्नुपर्ने आवश्यकता भने देखिएको छ । त्यसैगरी पुल बनेपछि गाउँसम्म पुग्न सहज हुने भएकाले चोरी वा अन्य कुनै आपराधिक घटना हुनसक्ने खतरातर्फ पनि प्रशासन र स्थानीय वासिन्दाले चनाखो हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्