२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : ईश्वर पोखरेल


221
Shares

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलिय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताउनुभएको छ ।

शनिबार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउण्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसावले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा फाउण्डेशनले योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको सन्दर्भमा माक्र्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार जबज भएको बताउनुभयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले जबजको विचार कतैबाट सापट लिएको विचार नभइ आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार भएको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवाद स्थापित भएपछि पनि बेलाबेला चुनौतीहरू आउने गरेको बताउनु भयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक कुराहरूलाई मनन गरेर विकसित भएको, दर्शन र सिद्धान्तले निकालेका निष्कर्षबाट जनताको बहुदलीय जनवाद सूत्रवद्ध भएको बताउनुभयो । उहाँले जबजको आलोकमा समाजवाद उन्मुख हुने बाटोमा मुलुक रहेको बताउनुभयो । उहाँले संविधान संशोधन आवश्यक रहेको भन्दै संशोधनको विषय सबैसँग छलफल गरेर सरकार अघि बढ्ने बताउनुभयो ।