२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


उद्योग क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ : उद्योगमन्त्री भण्डारी


130
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ । शुक्रवार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उद्योगमन्त्री भण्डारीले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्न तयार रहेको बताउनुभयो । उहाँले अहिले नेपालमा केही छैन र हुँदैन भन्ने भाष्य सिर्जना गरिरहेको भन्दै राज्यप्रति निराशा बाँड्न नहुने बताउनुभयो । उहाँले सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म देश नबन्ने दाबी गर्नुभयो ।

उद्योगमन्त्री भण्डारीले आर्थिक समृद्धिका लागि सफल हुनुपर्ने भन्दै राज्यलाई कमजोर देख्नेहरुबाट विकास सम्भव नरहेको बताउनुभयो । सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुँदा रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुन नसक्ने बताउनुभयो । तीन तहको सरकार बीचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले भन्नुभयो, ‘नेपालको सरकार, राज्य जबसम्म बलियो हुँदैन, तबसम्म कुनै क्षेत्र बलियो हुँदैन भन्नेकुरा बुझ्न जरुरी म ठान्दछु । उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि हामी सरकारको नीतिमा समस्या छन् भने, सरकारको नीतिमा प्रश्न छन् भने आउनुस् छलफल, बहस गरौँ । सरकारका नीतिमा होलान् कमजोरी, त्यो सच्याउन हामी तयार छौँ । कहाँनेर निजी क्षेत्र निरुत्साहित भएको हो, त्यसमा बहस गरौँ । हामी सहकार्य गर्न तयार छौँ ।’

उद्योगमन्त्री भण्डारीले उद्योग क्षेत्रमा रहेका समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले उद्योग क्षेत्रसँग सम्बन्धित, वस्तुगत सेवा, छाता संस्थाहरुसँग सम्बन्धित छलफल गरी मन्त्रायल सुधार कार्ययोजना बनाइएको बताउनुभयो ।