२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


सरकार सबै राजनीतिक पार्टीहरुसँग सहकार्य गरेर अघि बढ्न चाहन्छ : मन्त्री पाण्डे


78
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल पर्वतारोहण संघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरुले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताउनुभयो । सबै दलहरुले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाई थियो ।

मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवद्र्धनमा सरकार सदैव प्रतिवद्ध रहेको पनि बताउनुभयो । त्यस अवसरमा उहाँले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीहरुलाई सचेत पनि गराउनुभयो ।