काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।
सोमबार शर्माको एकल उम्मेदवारी परेसँगै उहाँले निर्वाचित हुनुभयो । उहाँले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबाट पद तथा गोपनियताको शपथ ग्रहण समेत गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद शर्मा यसअघि पनि सोही समितिको सभापति हुनुहुन्थ्यो । सभापतिमा निर्वाचित भएपछि समिति सभापति शर्माले कानून निर्माणका हिसावले धेरै राम्रो भएको र प्रत्यायोजित विधायनलाई नियन्त्रित गरेको बताउनुभयो ।
शर्माले समितिले सरकारलाई समितिको तर्फबाट दिइएका काम कारबाहीको कार्यान्वयन गर्न दबाब दिने काममा समिति सफल भएको बताउनुभयो । उहाँले कार्यान्वयन भए÷नभएको बारेमा मन्त्रीहरुसँग छलफल गर्ने थप निर्देशन दिने काम गरेको बताउनुभयो ।
समिति सभापति शर्माले समितिका कामकारबाही आगामी दिनमा अझ व्यवस्थित र सक्रिय बनाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्