२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


चक्रपथ बिस्तार समयमै सुरु नहुँदा सास्ती खेप्दै स्थानीय


0
Shares

काठमाडौं । चक्रपथअन्तर्गत कलंकी-बसुन्धरासम्मको सडक बिस्तार शुरु गर्ने भनिएको लामो समय भइसक्यो ।

पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम शुरु भएपनि सडक बिस्तारको काम शुरु हुन सकेको थिएन ।

यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया शुरु भएको छ । ८.२ किलोमिटरको दोस्रो खण्ड बिस्तारेको काम २०७५ सालमै शुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन ।

२०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम शुरु भइ २०७५ सालमै सकिएको थियो । पहिलो बिस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक बिस्तार शुरु हुनुपर्ने थियो । थर विभिन्न कारणवश अहिलेसम्म पनि शुरु हुन सकेको थिएन । जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो ।

चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । पूर्वतयारीस्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुप¥यो । र अहिले पनि जारी छ ।

सडक बिस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरु अहिले पनि प्रशस्त देखिन्छन् । बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरुप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसायमात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरुको छ । यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरुले सडक बिस्तारको कामलाई तिब्रता दिन आन्दोलनसमेत गरेका थिए ।