काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । शुक्रवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गर्नुभयो । उहाँले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सरकारले लिएको राजस्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गर्नुभयो । उहाँले आन्तरिक राजस्व रणनीति कार्यान्वयनका लागि जोड दिनुभयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘कोही पनि साथीहरु सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्री कहाँ नआउनु होला । मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस् । र लक्ष्य पूरा होस् । त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोगका दिन हामी तयार छौँ । सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ ।’
उपप्रधानमन्त्री पौडेलले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले लक्षित राजस्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्