२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


सभामुखको रुलिङको विरोधमा माओवादी केन्द्र


624
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधि सभा बैठक आगामी आइतबारसम्म धकेलिएको छ ।

गत भाद्र १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो ।

सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिनुभएको थियो । सोही विषयको सन्र्दमा बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गर्नुभएको थियो ।

सो रुलिङ संविधान विपरित भएको भन्दै माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले रुलिङको बिरोध गर्ने बताउनुभयो । संविधान विपरित हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरुले त्यसलाई नमान्ने बताउनुभयो ।

लगत्तै नेकपा (एमाले)का सांसद रघुजी पन्तले हिंसा शब्द आफैँमा असंसदीय नभएको बताउनुभयो । उहाँले संसदमा कसैलाई व्यक्ति किटेर भन्न भने नपाइने बताउनुभयो । उहाँले सभामुखले संविधान र कानूनसम्मत रुलिङ गर्नुभएको भन्दै रुलिङलाई मानेर अघि बढ्नुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको बताउनु भयो । उहाँले सो शब्द सच्याउन माग गर्नुभयो ।

पुनः बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको रुलिङ संविधान विपरित भएको भन्दै स्वीकार्य नहुने दोहो¥याउनुभयो ।

यसरी माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।