काठमाडौं । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न ८ बुंदे माग राख्दै विरोध गरेका छन् ।
चन्द्रागिरि नगरपालिका ५, किसिपिडीमा निर्माणाधीन नागढुङ्गा सुरुङमार्गको फ्लाई ओभर ब्रिजबाट स्थानीयबासी पिडित भएको र आवतजावतमा अप्ठ्यारो भएकाले विरोध गर्न बाध्य भएको सघर्ष समितिका संयोजक बिनोद महर्जनले बताउनुभयो ।
निर्माणाधीन फ्लाइओभरका कारण उक्त स्थानमा उत्पन्न धुलो धुवाँले स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा पर्ने असरलाई मध्य नजर गर्दै स्वास्थ्य बिमा गरिदिन, जग्गा अधिकरण गर्दा दिने मुआब्जा दिन, बाटो समेत मिचेका कारण पैदल यात्रुहरु हिँड्ने सडक पेटीसमेत नहुंदा उक्त स्थानको जनजीवन नै अस्तब्यस्त भएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
उनीहरुले परम्परागत विभिन्न जात्रा पर्वहरू, जेष्ठ नागरिक, स्कूले बालबालिकाहरू तथा सर्वसाधारणहरू दैनिक रूपमा आवतजावत गर्ने बाटो अवरोध हुने देखिएको साथै सवारी साधनहरूसमेत आवत जावत गर्नको लागि कम्तीमा पनि २० फिट बाटोको ब्यवस्था गरिदिनु पर्ने माग गरेको सयोजक महर्जनको भनाइ छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना र सडक विभागमा पटक–पटक जानकारी गराउँदा पनि स्थानीयको मागलाई संबोधन नगरिएको हुँदा मागहरूसहित विरोध प्रदर्शन गरेको सघर्ष समितिले जनाएको छ ।
पीडितहरुले आज बिहान गरेको विरोध कार्यक्रमका कारण कंलकी नागढुङ्गा सडकखण्ड अवरुद्ध बनेको थियो । स्थानीयको माग पूरा नगरेसम्म निर्माण कार्य गर्न नदिने सघर्ष समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्