१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका बाहिरियो


0
Shares

काठमाडौं, असार ६ । संयुक्तराष्ट्र संघीय मानवअधिकार परिषद्बाट अमेरिका बाहिरिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक्त वक्तव्य जारी गर्दै मानवअधिकार परिषद्बाट अमेरिका बाहिरिएको घोषणा गरेका हुन् ।

तर, परिषद्का प्रमुख जेद बिन राद अल हुसेनले भने अमेरिकालाई मानवअधिकारको रक्षाबाट पछि नहट्न आग्रह गरेका छन् ।

राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले मानवअधिकार परिषद्ले भेनेजुएला र इरानमा भइरहेको मानवअधिकार उल्लंघनका घटनामा केही नबोलेको र कंगोजस्ता देशलाई नयाँ सदस्य दिएर परिषद्ले मानवअधिकारको पक्षमा वकालत गर्न नसुहाउने बताइन् ।

उनले यस्ता संस्थाले मानवअधिकारलाई हानिमात्र पुर्‍याउने टिप्पणी गरिन् । उनले परिषद् राजनीतिक पक्षपातबाट प्रेरित भएको आरोप पनि लगाइन् ।

परिषद्बाट बाहिरिनु मानवअधिकारप्रतिको जिम्मेवारीबाट मुक्त हुन खोजेको भने नहुने उनले स्पस्ट पारिन् ।

हेलीले अघिल्लो वर्ष ‘युएनएचआरसी’मा इजरायलविरुद्ध दुर्भावना र भेदभाद भएको आरोप लगाउँदै यो संगठनबाट आफ्नो सदस्यताको समीक्षा गरिने बताएकी थिइन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि मानवअधिकार परिषद्का काममा पटक–पटक गम्भीर प्रश्न उठ्न थालेकाले संगठनको औचित्य नरहेको बताए ।

उनले विश्वभर मानवअधिकार उल्लंघनका घटना भइरहँदा पनि परिषद् मुकदर्शक बनेको टिप्पणी गरे ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को स्थापना सन् २००६ मा भएको हो । मानवअधिकार उल्लंघन गर्ने देशलाई सदस्यता दिएपछि परिषद् आलोचित हुँदै आएको थियो । (एजेन्सी)