१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


राणा र मल्लकालीन ऐतिहासिक भवनको पुनर्निर्माणमा हेलचेक्रयाइँ


234
Shares

काठमाडौं । गणतान्त्रिक सरकारका राष्ट्रपति, प्रधानमन्त्रीदेखि संवैधानिक निकायका मुख्यालय धानिरहेका राणा र मल्लकालीन ऐतिहासिक भवनहरुको पुनर्निर्माणमा हेलचेक्रयाइँ हुँदा ऐतिहासिक र सांस्कृतिक सम्पदा मासिने खतरा बढेको छ । भूकम्पले क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने निर्णय गरिएको भए पनि सरकारले ती दरबारहरु भित्रका विविध संरचना जोगाउन नसकेको खुलासा भएको छ । सिंहदरबारस्थित बेलायती बैठक नाम निशानाविहीन भएको छ भने बालमन्दिर रहेको सीता महलमा रहेका ललितकलाका बहुमूल्य कलाकृति पनि नामेट हुने अवस्था आएको छ ।

सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काठमाडौं उपत्यकामा रहेका दरबारले ४ सय वर्षअघिको इतिहास झल्काउँछन् । भूकम्पले बबरमहल, राष्ट्रबैंक रहेको ललिता भवन, थापाथलीको सिंहमहल, हरिहर भवन, बहादुर भवन, बागदरबार, केशरमहल, जावलाखेल दरबार, शशी भवन, शान्ता भवन, चन्द्र मिलिटरी हस्पिटल, त्रिचन्द्र कलेज रहेको राणाकालीन दरबारमा क्षति पुगेको थियो । पुनर्निर्माणको प्रक्रिया एकदमै सुस्त रहेकाले ऐतिहासिक राणकालीन दरबारहरु भूइँचालो गएको नौ बर्ष नाघिसक्दा पनि पुननिर्माण हुनसकेका छैनन् ।

यसको पछिल्लो उदाहरण बनेको छ– बालमन्दिर रहेको ऐतिहासिक सीता भवन । १ सय २ रोपनी जग्गामा रहेको सीता भवन जुन बाल मन्दिरको नामले परिचित छ, भूकम्पले भवन जीर्ण बनेपछि २०७६ सालमा पुननिर्माणको काम थालिएको थियो । काम थालेको ५ बर्ष बित्दा यसमा प्रयोग गरिेने अधिकांश निर्माण सामग्री विदेशबाट ल्याउनु पर्ने भन्दै निर्माण कम्पनीले आलटाल गर्दै आएको छ ।

सरकारले ताकेता गरी एक वर्षभित्र काम सक्न दबाब दिएपछि कामको गति केही हदसम्म बढे पनि पुनर्निर्माणको काम कहिले पुरा हुन्छ भन्ने टुंगो छैन । भवन सबलीकरण गरेर पुरानै ढाँचामा ल्याउने प्रयास त भएको छ तर वर्षौंदेखि ललितकला प्रज्ञा प्रतिष्ठानले संरक्षण गरेका चित्रकला, मूर्तिकला र काष्ठ कलाका अमूल्य सम्पदा भने नष्ट हुने अवस्थामा पुगेका छन । यस्ता अमूल्य कृति संरक्षणमा न प्रतिष्ठान सक्रिय रह्यो, नत सरकारी पदाधिकारीमै चासो देखियो ।

बेलाबेलामा प्रदर्शनमा राख्ने गरिएका बहुमूल्य कलाकृति यत्र, तत्र, धुलाम्य अवस्थामा छरपस्टिएका छन् । हेलचेक्र्याइँ यत्तिमा मात्र सीमित छैन, प्रधानमन्त्री कार्यालय समेत रहेको सिंहदरबारभित्रको बेलायती बैठकको संरक्षणमा समेत सरकार चुकेको पाइएको छ । बेलायती वैठकमा रहेका दुर्लभ सम्पदा समेत छाउनीस्थित संग्रहालयको एउटा कोठामा थन्क्याइएको छ । वैठकमा रहेका घडी, बत्ती, ऐना, टेबुल कुर्सीदेखि जनावरका छालाबाट निर्मित ट्याक्सीडर्मीका सुन्दर कलाकृति एकादेशको कथा बनेका छन् ।

राजामहाराजाले विदेशी पाहुनाको स्वागत गर्ने बेलायती बैठकमा तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले केही समय राजदूतको ओहोदाको प्रमाणपत्र लिने गर्नुभएको थियो । काठमाडौं आफैंमा ऐतिहासिक र सांस्कृतिक सम्पदाका दृष्टिले संग्रहालय हो । त्यसमाथि सयौैं वर्षदेखिको शासकीय विरासत समेत बोकेको यहाँका पुरातात्विक तथा साँस्कृतिक महत्वका सामग्री वा स्थानको संरक्षण नगरी मनपरी गर्नुले भिल्लको देशमा मणि भन्ने उखानलाई चतिार्थ गरेको छ ।