२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


गाजामा पोलियो थोपा खुवाउन युद्ध रोकिने


299
Shares

एजेन्सी । इजरायलले गाजापट्टीमा बालबालिकालाई पोलियोविरुद्ध खोप लगाउन अनुमति दिन ‘मानवीय युद्धविराम’ गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ) का अनुसार यही सेप्टेम्बर महिनामा इजरायलले तीन पटक मानवीय युद्धविराम गर्ने भएको छ ।

हरेक पटकको युद्धविराम तीन दिनका लागि हुनेछ । बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमका लागि स्थानीय समय अनुसार बिहान ६ बजेदेखि दिउँसो ३ बजसम्म युद्ध रोकिनेछ ।

पहिलो चरणको खोप कार्यक्रम सेप्टेम्बर एक तारिखबाट हुने बताइएको छ । यो अभियानले गाजा पट्टीमा करिब ६ लाख ४० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको छ ।

गाजापट्टीको मध्य, दक्षिणी र उत्तरी भागहरूमा तीन अलग–अलग चरणमा खोप दिइनेछ । डब्ल्यूएचओले गाजापट्टीमा ९० प्रतिशत खोप कभरेज हासिल गर्ने लक्ष्य राखेको छ ।