काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरुको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुभयो । हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको बताउनुभयो । तल्लो तालको मुख कमजोर भएको हुनाले फुटेर सो घटना हुन गएको पुष्टि भएको पाइएको उहाँको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताउनुभयो ।
प्राधिकरणकाअनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने संकेत देखिएको स्थानीयहरुले बताएका थिए । थामेमा गत साउन ३२ गते शुक्रबार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्