१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


एकतर्फी खुल्यो नागढुंगा सडकखण्ड


767
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन सुरू भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले बुधबार बिहान साढे १० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौं नौविसे सडकखण्ड प्रभावित भएको थियो ।

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताउनुभयो । पहिरो पन्छाउने कार्य भइरहेको छ ।

नागढुङ्गा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधन दिनभर ठप्प रहेको छ । अहिले पानी पर्न कम भएको छ ।