काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताउनुभएको छ ।
पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर पनि गर्नुभयो ।
अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउनुभयो । उहाँले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताउनुभयो । तर त्यो सम्बन्धले पार्टीलाई एकतावद्ध बनाउन मद्दत पु¥याएको अध्यक्ष दाहालको निष्कर्ष थियो ।
अध्यक्ष दाहालले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताउनुभयो । उहाँले पार्टीभित्र खुला छलफल गर्न दिने सोचअनुसार आफूले पछिल्ला बैठकहरु सञ्चालन गरेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्