काठमाडौं । सनातन धर्मावलम्वीहरुमा डमरु बाजाको विशेष महत्व छ । नादसँग सम्बन्धि यो बाजा बजाउने पनि आफ्नै कला छ । पछिल्लो समय डमरु बजाउने कला नै हराउने चिन्ता बढिरहेको बेला काठमाडौंका एक वयोवृद्ध आफ्नै पहलमा डमरु बजाउने तालिम दिन सक्रिय छन् ।
भगवान शिवलाई सबै प्रकारका नादहरुको आदिस्रोत मानिन्छ । यही नादहरुको विशेष वाद्ययंत्र मध्ये डमरु पनि एक हो । जुन इडा, पिंगला र सुषुम्ना तन्त्र शक्तिपात र अमोघ शिवतत्वमा विलिन हुन बजाईन्छ । सनातनकालदेखि विभिन्न धर्महरुमा यसको विशेष महत्व रहेको छ । नेपाल मण्डलमा प्राचिनकालदेखि कान्ता दबदब अर्थात डमरु बचाउने परम्परा रहेको छ ।
नित्यपुजा, तान्त्रिक पुजा, विभिन्न धार्मिक र साँस्कृतिक परम्पराहरुमा डमरु बजाउने गरिन्छ । तर समयक्रमसँगै डमरु बजाउने चलन पनि क्रमशः कम हुन्दै गएको छ भने युवा पुस्तामा पनि डमरु बारे चासो कम हुन्दै गएको छ । भविष्यमा डमरु बजाउने मौलिक परम्परा मासिन्छ की भन्ने चिन्ताले ९४ वर्षिय वाद्यगुरु भाईराजा महर्जन जुर्मुराउनु भएको छ । उहाँको जोस देख्दा लाग्छ नेपालको मौलिक संगित कला संस्कृति त्यसै जोगिएको होइन् भनेर ।
डमरुको मौलिक ध्वनी र तालहरुलाई संरक्षण गर्न उहाँले महिलाले डमरु छुनै हुँदैन भन्ने परम्परागत मान्यतालाई पनि चुनौति दिंदै १५ जना महिलालाई डमरु बजाउने सिकाइरहनु भएको छ । उहाँले समयको मागलाई आत्मसात गर्दे महिलाहरुलाई सामान्य रुपमा मात्र डमरु सिकाएर अमूर्त सम्पदाको संरक्षणकार्य शुरु गरेको बताउनुहुन्छ ।
काठमाडौं टेकु नजिक लिच्छवीकालिन बस्ती न्ह्य्मु न्ह्य् त्वाःका मिसा खलः मुसुम बहाका महिलाहरु डमरुको तालमा रमाइरहेका छन् । उनीहरु डमरुको मौलिक संंगित बचाउन करिब दुई महिनादेखि गुरुसँग तालिम लिइरहेका छन् । मचानानी महर्जन आफुहरुले धार्मिक मान्यतालाई चुनौति दिन नखोजेको भन्दै डमरुलाई संरक्षण गर्न खोजेको बताउनुहुन्छ । आफुले सिकेको ज्ञान र सिप भावी पुस्तालाई हस्तान्तरण गर्ने अनिता महर्जन बताउनुहुन्छ ।
धर्म संस्कृति र समाजप्रति उत्तरदायी गुथि व्यवस्था र समुदायका कारण यस्तो कार्य सम्भव भएको हो । त्यसैले महिला सश्क्तिकरण र अमूर्त सम्पदाको संरक्षण लागि पनि समुदायस्तरबाटै यस्ता कार्य गर्नु स्रहानीय छ ।
प्रतिक्रिया दिनुहोस्