काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको टिप्पणी गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभाबाट टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धि) विधेयक पारित गरेलगत्तै उहाँले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिनुभएको हो ।
सांसद भण्डारीले सो विधेयक विश्वकै शान्ति प्रक्रियाका लागि अघि बढाउने उच्च स्तरको अनुकरणीय दस्तावेजको रुपमा आएको दावी समेत गर्नुभयो । नेपालको शान्ति प्रक्रियालाई अघि बढाउनका लागि नेताहरुले लिएको सुझबुझपूर्ण निर्णयप्रति आफूले खुलेर प्रशंशा गर्ने गरेको पनि उहाँको भनाई थियो । सांसद भण्डारीले नेपालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनका लागि गरेको प्रयास विश्वकै नमूनायोग्य रहेको पनि बताउनुभयो ।
यता, प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शान्ति प्रक्रियाको बाँकि तार्किक निष्कर्षमा पुग्ने गरी सो सम्बन्धि विधेयक आएको दाबी गर्नुभयो । उहाँले विज्ञहरुको सुझावसहित आएको सो विधेयक आफैँमा महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा दलहरुले जोड दिनुपर्ने पनि बताउनुभयो । प्रमुख सचेतक परियारले सो विधेयकमा उल्लेखित विषयवस्तुलाई कार्यान्वयनमा लैजाने कुरामा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
प्रमुख सचेतक परियारले विधेयकमा लामो समयदेखि अनुभव समेत समेटिएकाले पीडितले न्याय पाउने कुरामा पनि शंका गर्न आवश्यक नरहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्