२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


दाहालको चिन्ता – शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की ?


364
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताउनुभयो । उहाँले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको बताउनुभयो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने बेला व्यवस्थामा नै संकट पर्नसक्ने चिन्ता व्यक्त गर्नुभयो । अहिले समाजमा अराजकता फैल्याउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताउनुभयो । एक अर्काप्रति निषेधको नभइ हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढिकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताउनुभयो । चुनौतिको सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले अहिले पनि शहीद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताउनुभयो । उहाँले शान्तिकोष स्थापना गर्नेकुरा बजेटमार्फत सुनिश्चित गरेपनि कार्यान्वयन अझै शुरु नभएको बताउनुभयो ।