Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


कांग्रेस-एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौं : अध्यक्ष दाहाल


923
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो ।

अध्यक्ष दाहालले फेरि सडकमा पलेटी कसेर जन दबाब सृजना गर्न बाध्य हुने चेतावनी दिनुभयो । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौति गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यस बिरुद्ध संघर्ष गर्ने बताउनुभयो ।

दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको जिकिर गर्नुभयो । उहाँले त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले ठूला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरुलाई निष्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाउनुभयो । उहाँले सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाउने बताउनुभयो ।