
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, भदौ ३० । पहिरो गएपछि थुनिएको बाग्लुङको बडिगाड खोलाबाट विस्तारै पानी बाहिर निस्कन सुरु गरेको छ ।
शुक्रबार राति ११ बजेपछि गएको पहिरोले थुनिएको बडिगाड खोलामा लामो ताल बनेपछि विस्तारै ‘ओभरफ्लो’ भएर पानी बाहिर निस्किएको हो ।
शनिबार बिहान साढे ५ बजेपछि ओभरफ्लो भएर पानी बग्न थालेकाले जोखिम कम हुँदै गएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिए ।
थुनिएर बनेको तालबाट पानी बग्न थालेको र तालमा पानीको सतह घट्दै गएको उनको भनाइ छ ।
बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर–१ को तुरतुरे र बडिगाड गाउँपालिका वडा नम्बर–७ को बीचमा पर्ने तुरतुरेस्थित बडिगाड खोला पहिरोका कारण थुनिएको हो ।
खोला थुनिएपछि ढोरपाटन–२, सिमलचौरका चुराबहादुर कुमालको गोठसहित तीन गोरु सो तालमा डुबेका छन् ।
स्थानीय देवीराम कुमाल, कृष्णबहादुर कुमाल र रामबहादुर कुमालको घरगोठ पनि डुबेको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्गको ठूलो भर्याङखन्डको सडक भदौ २३ गतेबाट बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म यातायात ठप्प पारी स्तरोन्नति गर्ने कार्य भइरहेका बेला भीषण पहिरो खसेको हो ।
स्थानीय प्रशासनले स्थानीवासीलाई सचेत गराउने र ताललाई व्यवस्थित ढंगले खुलाउने प्रयास भइरहेको जनाएको छ ।
पहिरो खसेर खोला थुनिएपछि खोला किनारका बाग्लुङ र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका थिए ।
पहिरोका कारण बाग्लुङका भीङगिठे, खारा, खरबाङ र गुल्मीका भूपाचिदी, मजुवा, चोरकाटे, उल्लीखोला, रिडीसम्मका बासिन्दा जाग्राम बसेका हुन् ।
बाग्लुङबाट नेपाली सेना, नेपाल प्रहरीसहितको टोलीले खोलाको बहाव खोल्ने प्रयास जारी राखेको छ ।
रातिदेखि थुनिएको खोला बिहानदेखि ओभरफ्लो भएर बग्न थाले पनि संकट भने नटरेको बाग्लुङ प्रहरीले जनाएको छ ।
नदी किनाराका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्